काठमाडौं, असोज ३० – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान अमेरिकाबाट स्वदेश फर्किएका छन्। उनीहरू कतार एयरवेजको विमानमार्फत बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विपिनको अवस्थाबारे जानकारी लिने र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायमा दबाब सिर्जना गर्न उनीहरू पहिले इजरायल र त्यसपछि अमेरिका पुगेका थिए। तर उनीहरू अमेरिकामै रहँदा हमासले विपिनको मृत्यु भएको पुष्टि गर्दै इजरायललाई उनको शव हस्तान्तरण गरेको थियो।
हाल विपिनको शव नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको र आवश्यक औपचारिक प्रक्रिया अघि बढिरहेको बताइएको छ।
विपिनकी आमा र बहिनीको इजरायल, अमेरिका र नेपाल बीचको सम्पूर्ण यात्रा व्यवस्थापन इजरायली सरकारले नै गरेको हो।
स्मरणीय छ, दुई वर्षअघि इजरायलको “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि गएका १७ जना नेपालीमध्ये १० जना हमासको आक्रमणमा ज्यान गुमाएका थिए। सो घटनामा विपिन जोशीलाई हमासले अपहरण गरी बन्धक बनाएको थियो, जसको मृत्यु हालै पुष्टि भएको हो।