‘टीओबी’ टिसर्ट लगाएर पेस्तोल देखाउने युवकको नागरिकता शंकास्पद, प्रहरीको विस्तृत छानबिन सुरु


‘टीओबी’ टिसर्ट लगाएर पेस्तोल देखाउने युवकको नागरिकता शंकास्पद, प्रहरीको विस्तृत छानबिन सुरु
  • नवकिरण
  • आश्विन ३०, २०८२

काठमाडौं, असोज ३० – हालैको जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर पेस्तोल बोक्दै हिँड्ने युवक पक्राउ परेका छन्। बौद्ध बसोबास गर्ने तेन्जिङ दावा लामा पक्राउ परेपछि प्रहरीले उनको नागरिकता र जन्मदर्ता दुवैबारे शंका व्यक्त गर्दै विस्तृत अनुसन्धान थालेको छ।

तेन्जिङ असोज २६ गते पक्राउ परेका हुन्। उनी ‘टीओबी (Tibetan Original Blood)’ नामक समूहका सदस्य भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। भदौ २३ र २४ गते काठमाडौँको बिजुलीबजार पुलमा भएको प्रदर्शनमा उनी समूहका अन्य सदस्यहरूसँग मोटरसाइकलमा सहभागी भएको भिडियो फुजेटमा भेटिएको प्रहरीले जनाएको छ।

भिडियोमा कम्मरमा पेस्तोल भिरेर हिँडेको देखिएपछि प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनको जन्मदर्ता २०६३ चैत १० गते काठमाडौँ महानगरपालिका–६, बौद्धमा गरिएको देखिए पनि सो दिन शनिबार परेकोले त्यसको प्रामाणिकता शंकास्पद ठहरिएको प्रहरी स्रोतले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक विवरण मागिएको छ। उनले भने, “विवरण आएपछि नागरिकता र जन्मदर्ताको सत्यता पुष्टि गरेर अनुसन्धान अघि बढाइनेछ।”

तेन्जिङले २०७९ असार २४ मा नागरिकता लिएको विवरण देखिएको छ। तर प्रहरीले सो नागरिकताको आधार र दस्तावेजबारे पनि स्पष्टता खोजिरहेको छ। उनका बुबा कृष्ण बहादुर लामा र हजुरबुवा तेन्जिङ लामाको नाम नागरिकतामा उल्लेख भए पनि परिवारका सदस्य हालसम्म सम्पर्कमा आएका छैनन्।

प्रहरीका अनुसार, बौद्धस्थित डेरामा खोजतलासी गर्दा बरामद पेस्तोल नक्कली भएको पाइएको छ। तेन्जिङले बयानमा आफू आधा तिब्बतियन भएको बताएका छन्। उनी पेशाले ट्याटु आर्टिस्ट र गायक समेत भएको र ‘टीओबी’ समूहको लोगो समेत उनले नै डिजाइन गरेको खुलेको प्रहरीले जनाएको छ।

‘टीओबी’मा करिब ५० देखि ६० जना बाइकर्स संलग्न रहेको अनुमान गरिएको छ। प्रहरी अहिले सो समूहको आर्थिक स्रोत र विदेशी संगठनसँगको सम्भावित सम्बन्धबारे पनि अनुसन्धान गर्दैछ।

तेन्जिङमाथि अहिले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए। उनका अनुसार, “तेन्जिङको वास्तविक पहिचान र समूहको पृष्ठभूमि पत्ता लगाउने काम जारी छ।”