काठमाडौं, असोज ३१– जेनजी आन्दोलनका अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा जारी भिडिओमार्फत उनले ‘गरिखान देऊ’ अभियानअन्तर्गत पार्टी खोल्ने योजना सार्वजनिक गरेका हुन्।
ढुङ्गानाले बताएका छन् कि हालको राजनीतिक परिप्रेक्ष्यमा नयाँ अवसर सिर्जना भएको छ र त्यसैका कारण नयाँ पार्टी खोल्न आवश्यक देखिएको हो। तर उनले स्पष्ट पारेका छन् कि तत्काल निर्वाचनमा उनीहरू भाग नलिनेछन्।
भिडिओमा ढुङ्गानाले भनेका छन्, “हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरको पर्याप्त संरचना नबन्दा हामी निर्वाचनमा जाने छैनौँ।”
उनले आमूल परिवर्तन ल्याउने उद्देश्यसहित शान्तिपूर्ण ढंगले राजनीतिक क्रियाकलाप अघि बढाउने र पार्टी गठनका लागि वार्ता समिति पनि गठन गरिएको जानकारी दिएका छन्। कात्तिक १ गते प्रेसमिटमार्फत पार्टीको विस्तृत योजना र संरचनाबारे थप जानकारी दिने पनि ढुङ्गानाले बताएका छन्।