रास्वपाबाट वरिष्ठ अधिवक्ता घिमिरेको राजीनामा


रास्वपाबाट वरिष्ठ अधिवक्ता घिमिरेको राजीनामा
  • नवकिरण
  • कार्तिक १, २०८२

काठमाडौं, कात्तिक १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले पार्टीसँगको आफ्नो सम्बन्ध औपचारिक रूपमा तोडेका छन्। पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमार्फत उनले शुक्रबारदेखि रास्वपामा नरहेको जानकारी गराएका हुन्।

घिमिरेले रास्वपाको कानुन विभागसहितका विभिन्न नीतिगत समितिहरूमा लामो समय योगदान दिएका थिए। उनले गैरआवासीय नेपाली (एनआरएन) का समस्या समाधान गर्न कानुनी मस्यौदा तयार पार्ने कार्यमा महत्वपूर्ण भूमिका निभाएका थिए।

उनले नागरिकता, लगानी र संविधान संशोधनसम्बन्धी कानुनहरूमा सुधार आवश्यक रहेको बताउँदै, प्रवासी नेपालीलाई नेपालको विकासमा जोड्ने कानुनी आधार मजबुत बनाउन निरन्तर सुझाव दिँदै आएका थिए।

रवि लामिछानेको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा कानुन विज्ञको रूपमा उनको संलग्नता रहे पनि अन्य अदालतमा चलिरहेका मुद्दाहरूमा उनी सहभागी थिएनन्।

घिमिरेले रास्वपामा रहँदा कानुन, नीति तथा विधान मस्यौदाका कार्यदलमा सक्रिय योगदान गरेका थिए। उनका अनुसार अब उनले स्वतन्त्र रूपमा कानुनी अभ्यास र नीति निर्माणका क्षेत्रमा ध्यान केन्द्रित गर्ने योजना बनाएका छन्।