ओलीको निर्वाचन बहिष्कार घोषणाप्रति राष्ट्रपति पौडेलको असन्तुष्टि


ओलीको निर्वाचन बहिष्कार घोषणाप्रति राष्ट्रपति पौडेलको असन्तुष्टि
  • नवकिरण
  • कार्तिक १, २०८२

काठमाडौं, कार्तिक १ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल असन्तुष्ट बनेका छन् । शनिबार शीतलनिवासमा बौद्धिक समुदायका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति पौडेलले ओलीको निर्णयप्रति असन्तोष व्यक्त गरेको स्रोतले जनाएको छ।

श्रोतका अनुसार छलफलका क्रममा राष्ट्रपति पौडेलले ओलीको शुक्रबारको वक्तव्यले देशको राजनीतिक स्थायित्वमा नकारात्मक असर पार्ने आशंका व्यक्त गरेका थिए। ‘राष्ट्रपतिज्यू एमाले अध्यक्षको निर्णयप्रति सन्तुष्ट हुनुहुन्न,’ छलफलमा सहभागी एक बौद्धिक अगुवाले भने, ‘उहाँले त्यसबारे खुलेर असन्तुष्टि जनाउनुभयो।’

एमाले अध्यक्ष ओलीले शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रमा २१ फागुनका लागि तय भएको आगामी निर्वाचनमा पार्टी सहभागी नहुने घोषणा गरेका थिए।

तर, पार्टीका धेरै नेताहरूले ओलीको निर्णयप्रति असहमति जनाउँदै निर्वाचनमै सहभागी हुनुपर्ने धारणा राखेका थिए। सो धारणा एमाले नेतृत्वले अस्वीकार गरेपछि पार्टीभित्र पनि असन्तोष बढेको बताइन्छ।

राष्ट्रपतिले ओलीबाहेकका एमाले नेताहरूसँग पनि भेटवार्ता गरेको बताइएको छ। ती नेताहरूले राष्ट्रपति समक्ष निर्वाचन लोकतान्त्रिक प्रक्रियाको अनिवार्य हिस्सा भएकाले सबै दलले सहभागी हुनुपर्ने सुझाव दिएका थिए।

छलफलका क्रममा राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको प्रसङ्ग समेत स्मरण गराएको सहभागीहरू बताउँछन्।

राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रपतिद्वारा व्यक्त असन्तोषले एमालेभित्र थप तरंग ल्याउने सम्भावना देखिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतका दलहरूले पहिले नै निर्वाचनमा सहभागी हुने घोषणा गरिसकेको सन्दर्भमा ओलीको बहिष्कारको अडानले आगामी राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।