खड्का भन्छन्– ‘कांग्रेस चुनावका लागि तयार, अब सरकार अगाडि बढोस्’


खड्का भन्छन्– ‘कांग्रेस चुनावका लागि तयार, अब सरकार अगाडि बढोस्’
  • नवकिरण
  • कार्तिक ४, २०८२

सुर्खेत, कार्तिक ४ – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कुनै पनि हालतमा निर्वाचनबाट नभाग्ने बताएका छन्। उनले लोकतान्त्रिक अभ्यासको निरन्तरताका लागि चुनाव आवश्यक भएको उल्लेख गर्दै सरकारले त्यसका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए।

मंगलबार वीरेन्द्रनगरमा कांग्रेस सुर्खेतका पूर्व सभापति तथा जिल्ला विकास समितिका पूर्व सभापति स्व. गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथि कार्यक्रममा बोल्दै खड्काले हालको राजनीतिक अनिश्चितताको मूल कारण सरकार आफैं भएको टिप्पणी गरे।

उनका अनुसार, “कांग्रेस सधैं जनताको मतको सम्मान गर्ने पार्टी हो। हामी चुनावका लागि तयार छौं। अब सरकारले वातावरण तयार पार्नुपर्छ।”

खड्काले हाल सरकारमा रहेका केही व्यक्तिहरू राजनीतिक पूर्वाग्रहका साथ नेताहरूलाई दोषारोपण गर्न व्यस्त रहेको आरोप पनि लगाए। उनले भने, “अनुसन्धान र छानबिन कानुनी ढंगले हुनुपर्छ, तर त्यसलाई राजनीतिक बदला लिने माध्यम नबनाउनुपर्ने हो।”

खड्काले देशमा बढ्दो अन्योलको अन्त्यका लागि सबै दलबीच संवाद र सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरे। “संवादहीनता अन्त्य भए मात्र निर्वाचनको बाटो खुलेर स्थायित्व आउन सक्छ,” उनले थपे।