जनकपुरधाम, कार्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले तोकिएको समयमा निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन्।
बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले चुनावको वातावरण तयार गर्न गम्भीर पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
‘निर्वाचन तोकिएकै समयमा हुनुपर्छ,’ प्रचण्डले भने, ‘सरकारले यसलाई प्राथमिकताका साथ लिएर सबै पक्षबीच विश्वासको वातावरण बनाउनुपर्छ।’
उनका अनुसार, दलहरूबीच भएको पछिल्लो संवादले सरकारले चुनाव तयारीप्रति गम्भीरता देखाउन थालेको संकेत गरेको छ, तर अझै आवश्यक वातावरण पूर्ण रूपमा बनेको छैन।
प्रचण्डले असाधारण परिस्थितिमा गठन भएको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै राजनीतिक दलहरू निर्वाचन केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले माओवादी केन्द्र नै चुनाव केन्द्रित हुने निर्णय गर्ने पहिलो पार्टी भएको दाबी पनि गरे।
जेनजी आन्दोलनपछि काठमाडौं बाहिर मधेश प्रदेशमा कार्यक्रम गर्न पुगेको पहिलो दल माओवादी केन्द्र भएको उनको भनाइ थियो। माओवादी केन्द्रले बुधबार महोत्तरीको रामगोपालपुरमा पार्टी प्रवेश तथा जनसभा कार्यक्रम आयोजना गरेको छ।
वामपन्थी एकता र ध्रुवीकरणबारे कुरा गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा रहेका दलबीच एकता प्रक्रिया क्रमशः अघि बढिरहेको जानकारी दिए।
‘निर्वाचन त निश्चित रूपमा हुन्छ,’ उनले भने, ‘वामपन्थी एकता र ध्रुवीकरण पनि समाजवादी मोर्चाका दलहरूबीच चरणबद्ध रूपमा अगाडि बढ्दै जानेछ।’