काठमाडौं, कार्तिक १० – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी, पार्टीकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, सोमबार राति सिंगापुर प्रस्थान गर्न लागेका छन्। पारिवारिक स्रोतका अनुसार उनीहरू आज राति १० बजे सिंगापुर एयरलाइन्सबाट उडान भर्ने तय भएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटपिटमा परेका देउवा दम्पती केही समयदेखि स्वास्थ्य उपचारमा थिए। देउवाको गर्दनमा गम्भीर चोट लागेर १२ टाँका लगाइएको थियो। उनी करिब एक महिना सैनिक अस्पताल, छाउनीमा उपचाररत थिए।
स्वास्थ्यमा अझै पूर्ण सुधार नभएपछि चिकित्सकको सल्लाहअनुसार उनीहरू थप उपचारका लागि सिंगापुर जान लागेका हुन्। देउवाले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालालगायत शीर्ष नेताहरूसँग उपचारका लागि विदेश जानेबारे जानकारी गराएका थिए।
असोज २८ गते पहिलोपटक सार्वजनिक रूपमा देखिएका देउवा त्यसपछि कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। पारिवारिक स्रोतका अनुसार सिंगापुरमा केही समय उपचार गरेर उनी केही महिना उतै बस्ने तयारीमा छन्।
