काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउने तयारी भइरहेको भन्ने समाचारलाई असत्य र भ्रामक भन्दै खण्डन गरेको छ।
सचिवालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री हटाइने दाबी निराधार भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “मन्त्री तोक्ने वा हटाउने अधिकार पूर्ण रूपमा सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रमा पर्छ। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुनै सक्दैन।”
प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्री अर्याल अहिले देशभर निर्वाचनको तयारी, शान्ति–सुरक्षा कायम राख्ने कार्य र सुरक्षा निकायको मनोबल उच्च राख्न अहोरात्र खटिएको जनाएको छ।
सचिवालयले हालको असामान्य राजनीतिक परिस्थितिमा यस्ता भ्रमपूर्ण समाचार नफैलाउन र अफवाहमा विश्वास नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
