काठमाडौं, कार्तिक २० – विभिन्न १० वटा वामपन्थी दल र समूहहरूको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले बिहीबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
साविकका नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू एक भएर नयाँ दल गठन गरेपछि आयोगमा औपचारिक रूपमा दर्ता प्रक्रिया सुरु गरिएको हो। नवगठित पार्टीले आफ्नो चुनाव चिन्ह ‘पाँचकुने तारा’ रोजेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले नेपाली कम्युनिस्ट पार्टीको निवेदन प्राप्त गरिसकेको छ। आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने सबै दलहरूले ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ।
पार्टीका नेता शिव खकुरेलले एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन दर्ता गरिएको जानकारी दिए। उनका अनुसार पार्टीको विधान अन्तिम चरणमा पुगेको छ।
“पदाधिकारी चयन र अन्य व्यवस्थापकीय विषय टुंगिएपछि पूर्ण विधानसहित आयोगमा आवश्यक कागजात पेश गरिनेछ,” उनले बताए।
यसअघि बुधबार सार्वजनिक गरिएको एकता घोषणापछि बिहीबार दल दर्ता प्रक्रिया अघि बढाइएको हो, जसले वामपन्थी एकतालाई नयाँ रूप दिन लागेको विश्लेषकहरूको भनाइ छ।
