काठमाडौँ, कात्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनको अनुरोधमा आफू कारागारबाहिर निस्किएको दावी गरेका छन्।
जेन–जी आन्दोलनमा भएको दमनबारे अनुसन्धान गर्न गठित आयोगलाई बयान दिँदै लामिछानेले भने, “म त्यस दिन कारागारमै थिएँ, तर प्रदर्शनकारीहरूले नाराबाजी गर्दै कारागारतर्फ आउँदा सुरक्षाकर्मी र प्रशासनले कैदीबन्दी जोगाउन सक्ने अवस्था थिएन। त्यसैले कारागार प्रशासनको आग्रहमा बाहिर निस्किएको हुँ।”
उनले थप बताए कि उनी आयोगको निम्तो र विश्वासका आधारमा मात्र बयान दिएका हुन्। आयोग स्रोतका अनुसार, जेलर सत्यराज जोशीले दबाबमा हस्ताक्षर गरेको कुरा समेत स्वीकार गरेका छन्।
जाँचबुझ आयोगले यसअघि दुई दिनसम्म नख्खु कारागारको स्थलगत निरीक्षण गरेको थियो। यस क्रममा कैदीहरूको नाईके तथा भाइनाइकेहरूसँग सोधपुछ गरिएको थियो। स्थलगत निरीक्षण र प्रत्यक्ष सोधपुछपछि १९ कात्तिकमा लामिछानेको बयान लिइएको थियो।
