काठमाडौं, कार्तिक २२ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको पुष्टि भएको छ। केही समयदेखि स्वास्थ्य जटिलतामा रहेका आलमको काठमाडौं मेडिकल कलेजमा उपचाररत अवस्थमै गएराति साढे २ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
मिर्गौला फेल भएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको आलमको अवस्था निरन्तर जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई बचाउन सक्ने सम्भावना कमजोर भएको बताएका थिए। निरन्तर डायलाइसिसमा राखेर उपचार गराइएका उनको स्वास्थ्यमा सुधार नदेखिएपछि अन्ततः निधन भएको हो।
रौतहटबाट प्रतिनिधिसभा सदस्य भइसकेका आलमले विगतमा वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
२०६४ चैतमा रौतहटको राजापुरमा भएको बम विस्फोट र त्यसपछि घाइतेलाई हत्या गरेको अभियोगमा जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, हालै वीरगञ्ज उच्च अदालतले उक्त फैसला उल्ट्याएपछि उनी नख्खु कारागारबाट मुक्त भएका थिए।
कारागारमुक्त भएपछि नै उनको स्वास्थ्यमा थप जटिलता देखिन थालेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
