काठमाडौँ, कात्तिक २३ – गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका सबै गतिविधि सार्वजनिक गर्न नसकिने स्पष्ट गर्दै मन्त्रालयको संवेदनशील प्रकृतिले धेरै विषयहरू गोप्य राख्नुपर्ने अवस्था सिर्जना गर्ने बताएका छन्।
आफ्नो आधिकारिक फेसबुकमार्फत मन्तव्य सार्वजनिक गरेका मन्त्री अर्यालले केही कामहरूबारे के गर्दै छौँ भन्न मात्र होइन, के गरिसक्यौँ भन्ने जानकारी समेत तुरुन्त बाहिर ल्याउन कठिन हुने परिस्थितिहरू हुने बताए। उनका अनुसार, यस्ता चुनौतीपूर्ण अवस्थामामा सरकारको कर्तव्य शान्त, संयम र शुद्ध मनले काम गर्दै जानु हो।
अर्यालले देश अहिले सुशासन स्थापनाको मार्गमा रहेको र आगामी निर्वाचनसम्म देशलाई जिम्मेवारीपूर्वक डोर्याउने सरकारको लक्ष्य रहेकाले नागरिकले धैर्य अपनाइदिनुपर्ने आग्रह गरे। उनले कार्यकालको अन्त्यमा धैर्यका लागि जनतालाई धन्यवाद दिने प्रतिवद्धता पनि व्यक्त गरे।
यसैबीच, गृहमन्त्रीलाई लक्षित गर्दै दबाब बढाउँदै आएको सुदन गुरुङ नेतृत्वको समूह हालै सक्रिय बन्दै गएको छ। गुरुङले केही दिनअघि नै मन्त्री अर्याललाई हटाउन चेतावनीसमेत दिएका थिए, जसले गृह मन्त्रालयभित्रको हालको राजनीतिक वातावरणलाई थप तनावपूर्ण बनाएको छ।
