काठमाडौं, कार्तिक २६ – नेकपा एमालेबाट निस्कासनमा परेका नेता डा. भीम रावल आज प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गर्दै छन्।
दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा रावललाई पार्टीमा स्वागत गरिनेछ। कार्यक्रममा प्रचण्ड, माधव नेपाल र रावल स्वयंले सम्बोधन गर्ने तयारी गरिएको छ।
गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला र भानुभक्त जोशीबीच भएको छलफलपछि रावल पार्टीमा मिसिने सहमति बनेको हो। यसअघि १० दलको एकता घोषणाको क्रममा पनि रावललाई समावेश गर्ने तयारी भएपनि थप छलफलको आवश्यकता भन्दै त्यसबेला औपचारिकता टारिएको थियो।
स्रोतका अनुसार रावललाई पार्टीमा छैटौं वरीयता दिने निर्णय भएको छ। साथै, रावलको समूहका नेताकार्यकर्तालाई पनि पार्टी संरचनामा उचित जिम्मेवारी प्रदान गर्ने सहमति बनेको छ।
पार्टी एकता सुदृढ पार्न र संगठनलाई थप प्रभावकारी बनाउन ६ महिनाभित्र एकता महाधिवेशन गर्ने तयारी समेत गरिएको छ। त्यसका लागि पार्टीका दस्तावेज लेखनको जिम्मेवारी रावलले वहन गर्ने भएका छन्।
एमालेले अनुशासन उल्लंघन गरेको भन्दै रावललाई गत पुसमा पार्टीबाट निष्कासित गरेको थियो। त्यसपछि उनले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्दै आएका थिए। अब भने उनी पुनः वाम एकताको साझा छातामुनि फर्किन लागेका छन्।
