पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घर डढेपछि भावुक प्रतिक्रिया: ‘मैले के बिराएँ ?’


पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घर डढेपछि भावुक प्रतिक्रिया: ‘मैले के बिराएँ ?’
  • नवकिरण
  • मंसिर ३, २०८२

काठमाडौं, मंसिर ३ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो घर आगजनी र लुटपाटबाट पूर्णरूपमा नष्ट भएपछि सामाजिक सञ्जालमार्फत अत्यन्त भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्।

दुई दिनसम्म निरन्तर भएको आगजनी र लुटपाटबाट आफ्नो जीवनभरको सम्पत्ति, सम्झनाहरू र कागजातसमेत जलेर खरानी बनेको बताउँदै उनले राज्यलाई मार्मिक प्रश्न गरेका छन् – ‘मैले के बिराएँ ?’

शाक्यले फेसबुकमा लेखेका लामो स्टाटसमा आफूले जीवनभर देश र प्राधिकरणको सेवामा बिताएको तर अन्त्यमा उल्टै लान्छना र अपमान सहनुपरेको उल्लेख गरेका छन्। उनले आफ्नो अवस्था अमरसिंह थापा राष्ट्रका लागि लडे पनि अन्त्यमा दरबारको कृतघ्नतामा पीडित हुनुपरेको प्रसङ्गसँग तुलना गर्दै लेखेका छन्, “देशका लागि रगत बगाउँदा पनि हार मान्नुपरेपछि कस्तो पीडा हुन्छ, आज म अनुभूति गर्दैछु।”

शाक्यले घर निर्माणका लागि विदेशमा भोगेका कठिनाइ पनि स्मरण गरेका छन्।

उनी लेख्छन्, “अफगानिस्तानमा क्षण–क्षण बम र बन्दुकको जोखिममा काम गरेर कमाएको ८–१० हजार डलर महिनाको कमाई बचाएर मैले घरको आधार खडा पारेँ। त्यसमा पनि नपुगेर सञ्चय कोषबाट ऋण लिएँ, चिलिमेबाट आएको बोनस र श्रीमतीको मिहिनेत जोडेर चिन्तन र पसिनाले बनाएको त्यो घर आज कालो खरानी बनेर मेरो हातमा छ।”

उनी लेख्छन्, “धन त फर्काउन सकिन्छ, तर यादहरू? कसरी फर्काउने?” शाक्यले इमानदार जीवन जिउनु र परिवार पाल्नु नेपालमा कति कठिन हुन्छ भन्ने विषयमा पनि प्रतिक्रिया दिएका छन्।

“यहाँ इमानदारले घर चल्दैन र बेइमानले आत्मसम्मान पाइँदैन,” भन्दै उनले श्रीमतीसँग गरेको पुरानो संवाद स्मरण गरेका छन्। ‘म भीम मल्ल बन्न चाहन्नँ, बिशे नगर्ची मात्रै बन्ने हो’। देशका लागि बलिदान दिएका काजी भीम मल्लका उदाहरण दिएर शाक्यले आफ्नो पीडा थप प्रस्ट्याएका छन्।

“मलाई कोही सति हुन नआओस्, किनकि म चाहन्नँ कसैले मेरो देशलाई सरापोस्,” भन्दै उनले आफूले केवल बिशे नगर्चीजस्तै ‘देशका लागि तटस्थ र समर्पित’ चरित्र बन्ने इच्छा व्यक्त गरे।

उनले आफूलाई थर मिल्यो भनेर ‘सालो केटो’ को उपनाम दिएर बलि चढाइने प्रवृत्तिमाथि पनि रोष प्रकट गरे। ‘घुन पिसिएको अर्थहीन खरानी स्वीकार्य छैन’

अन्त्यमा शाक्य लेख्छन्, “यदि यो सबै देशका लागि आवश्यक बलिदान हो भने, म शिर नवाउँछु। तर घुनले पिसिएको यो अर्थहीन खरानी, मैले स्वीकार्न सक्दिनँ। म जवाफ खोज्दैछु— आफ्नै घरको खरानी हातमा लिएर।”

शाक्यको भावुक स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरैले उनलाई धैर्य राख्न आग्रह गरेका छन् भने केहीले घटना छानबिन गर्न सरकारलाई माग गरेका छन्।