काठमाडौं, मंसिर ५ – गायिका नीतु पौडेलको आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो।
अदालतको आदेशपछि बाबुल बुधबार नै प्रहरी हिरासतबाट मुक्त भएका थिए।
नीतु पौडेलको परिवारले उनी र बाबुलबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताउँदै बाबुलले विवाह गर्न अस्वीकार गरेपछि नीतुले चरम कदम चालेको दाबी गरेको छ।
कार्तिक १ गते, बाबुलको अनामनगरस्थित स्टुडियोमा नीतुले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। गम्भीर रूपमा घाइते भएकी उनको उपचारको क्रममा कार्तिक ७ गते बर्न अस्पतालमा मृत्यु भएको थियो।
घटनापछि बाबुललाई आत्महत्या दुरुत्साहनको मुद्दामा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
