जेनजी नेताहरूको प्रश्न– भदौ २३ मा नउत्रिएका मिराज अहिले किन सडकमा?


जेनजी नेताहरूको प्रश्न– भदौ २३ मा नउत्रिएका मिराज अहिले किन सडकमा?
  • नवकिरण
  • मंसिर १०, २०८२

काठमाडौं, मंसिर १० – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग अघि सार्दै आएका ‘गरिखान देउ’ समूहका संयोजक मिराज ढुंगानाले पछिल्ला दिन सार्वजनिक प्रदर्शनका बीच जेनजी आन्दोलनकै नेताहरूको कडा प्रश्नको सामना गर्नुपरेको छ।

ढुंगानाले फागुन २१ गते हुने आगामी निर्वाचनमा आफू सहभागी नहुने बताएका छन्। तर अन्य जेनजी समूहहरूले भने वर्तमान लोकतान्त्रिक प्रणाली र संविधानअन्तर्गत चुनावी प्रक्रियामार्फत परिवर्तन खोज्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्। यही कारण ढुंगानाको समूहको संरचना र उद्देश्यबारे अझै स्पष्टता देखिएको छैन।

सोमबार सिंहदरबार पुगेर आफ्ना मागसम्बन्धी पर्चा टाँसेका ढुंगाना मंगलबार पनि सिंहदरबार बाहिर पुगे। प्रहरीको हस्तक्षेपपछि उनलाई अनामनगरस्थित धोबिखोला पुलतिर पुर्‍याइएको थियो। यस घटनापछि जेनजी नेताहरूले ढुंगानाको राजनीतिक दिशाबारे प्रश्न उठाएका छन्।

कोशी प्रदेश जेनजी संयोजक उपार्जुन चाम्लिङले सामाजिक सञ्जालमार्फत मिराजको विचारसँग आफू सहमत हुन नसक्ने स्पष्ट पार्दै, उनीमाथि गरिएको धरपकडलाई पनि लोकतान्त्रिक मूल्यविरुद्धको कदम भनेका छन्।

“सडक लोकतन्त्र मान्ने र नमान्ने सबैको हो,” चाम्लिङले लेखेका छन्, “तर भदौ २३ मा नउत्रिएका मिराजजी अहिले किन र कसका लागि सडकमा आइरहनु भएको छ?”

नेपाल जेनजी फ्रन्टका संगठन समिति सदस्य युजन राजभण्डारीले पनि सोही विषयमा प्रश्न उठाएका छन्। उनका अनुसार भदौ २२ गते भीमसेनगोलामा जेनजी आन्दोलनका एजेन्डाबारे भएको छलफलमा भ्रष्टाचार नियन्त्रण, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा गर्ने विषय प्राथमिकतामा राखिएको थियो।

तर मिराज ढुंगानाले ती एजेन्डा आफ्नो व्यक्तिगत उद्देश्यसँग मेल नखाने भन्दै भदौ २३ को आन्दोलनमा सहभागी नहुने घोषणा गरेको राजभण्डारी बताउँछन्।

उक्त छलफलपछि ढुंगाना फरक समूहबाट आन्दोलन गर्ने योजना बताउँदै चुपचाप निस्किएको र राति भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा पुगेको तस्बिर सार्वजनिक भएको राजभण्डारीको दाबी छ। ढुंगानाले पछि टिकटकमार्फत आफू प्रसाईंलाई बोलाउन नभई नआउन अनुरोध गर्न गएको स्पष्टीकरण दिएका थिए।

अब भने उनी सडकमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग अगाडि सार्दै सक्रिय भएका छन्। यही कारण जेनजी नेताहरूले ढुंगानालाई प्रश्न गरेका छन् – “देखाउने दाँत प्रत्यक्ष प्रधानमन्त्री हो भने चपाउने दाँत के? किन पृथ्वीका कुनै देशमा ‘प्रत्यक्ष प्रधानमन्त्री’को व्यवस्था छैन? प्रधानमन्त्रीमाथि कसले निगरानी गर्ने?”

ढुंगानाको फरक धारालाई अस्वीकार नगर्ने नेताहरूले लोकतन्त्रमा प्रतिरोध र आलोचनासँगै वैकल्पिक आवाजको अधिकार पनि रहन्छ भन्ने स्पष्ट पारिरहेका छन्।

युजनको भनाइमा, “पुराना दलप्रति ‘नट अगेन’ भन्नेहरू, निरङ्कुशतालाई ‘नेभर अगेन’ भन्न तयार रहनुपर्छ।”