मधेस प्रदेशमा सात दल आज मुख्यमन्त्री पदको दाबी पेश गर्न तयारी


मधेस प्रदेशमा सात दल आज मुख्यमन्त्री पदको दाबी पेश गर्न तयारी
  • नवकिरण
  • मंसिर १९, २०८२

काठमाडौँ, मंसिर १९ – मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया तीव्र बनेको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभले सरकार गठनका लागि तोकेको आजको अन्तिम म्यादलाई ध्यानमा राख्दै सात दलले संयुक्त रूपमा मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन्।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहका अनुसार सात दलले बिहीबार बसेको बैठकमा साझा उम्मेदवार टुङ्ग्याउने र आज नै प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने निर्णय गरेका छन्।

सत्ता गठनबारे छलफलमा सहभागी सात दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। यी दलहरूले मुख्यमन्त्री मात्र होइन, सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, तथा विभिन्न आयोगका पदसमेत समेटेर पूर्ण पैकेज सहमति खोजिरहेका छन्।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त नहुने संकेत पाएपछि पदबाट राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण गर्ने गतिविधि तीव्र बनेको हो।