विराटनगर, मंसिर १९ – जेनजी आन्दोलनका क्रममा मोरङमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाबारे नेकपा एमाले मोरङले औपचारिक रूपमा प्रहरीमा जाहेरी दर्ता गरेको छ। भदौ २४ गतेका घटनाले सार्वजनिक, निजी तथा सरकारी सम्पत्तिमा व्यापक क्षति पुर्याएको भन्दै जिम्मेवारलाई कारबाही गर्न एमालेले माग गरेको हो।
शुक्रवार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कवित कटवाललाई एमालेको टोलीले जाहेरी बुझाएको थियो। पार्टीका जिल्ला सदस्य मुकेश बुढाथोकीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको विवरण, फोटोग्राफ र समूहगत गतिविधिका प्रमाणसमेत प्रहरीले उपलब्ध गराइएको छ।
एमाले मोरङले यसअघि गठन गरेको अध्ययन कार्यदलले जिल्लामा ५ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको निष्कर्ष निकालेको छ। सो प्रतिवेदन बुझाइसकेपछि एमालेले प्रतिवेदनका आधारमै दोषी पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्दै जाहेरी दिएको सचिव सोमराज थापाले जानकारी दिए।
यसअघि नै प्रहरीले आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा ३९ जनालाई पक्राउ गरिसकेको छ। एसपी कटवालले पक्राउ परेकाहरूमा कानुनी कारबाही अघि बढाइने र बाँकी संलग्न व्यक्तिहरूलाई समेत खोजी जारी रहेको बताए।
