प्राधिकरण फर्किएका शाक्यले खोले घिसिङसँगको कार्य सम्बन्ध


प्राधिकरण फर्किएका शाक्यले खोले घिसिङसँगको कार्य सम्बन्ध
  • नवकिरण
  • मंसिर २४, २०८२

काठमाडौँ, मंसिर २४ – हालै पुनर्बहाली भएर नेपाल विद्युत् प्राधिकरण (एनईए) फिर्ता आएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसँगको सम्बन्ध, कार्यशैली र भविष्यको समन्वयबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्। प्राधिकरणमै लामो समय बिताएका दुवै अधिकारीले ऊर्जा क्षेत्रमा समान बुझाइ भएको शाक्यको भनाइ छ।

शाक्यका अनुसार आफू र मन्त्री घिसिङले करिब तीन दशकभन्दा बढी समय प्राधिकरणमै बिताएकाले ऊर्जा व्यवस्थापनका धेरै पक्षमा उनीहरूको सोच मिल्दोजुल्दो छ। “हामी दुवै प्राधिकरणका क्याडर हौँ, त्यही संस्थामा बस्दै अनुभव बटुलेका हौँ,” उनले भने, “त्यसैले ऊर्जा क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि लगभग एकै ठाउँमा आउँछ।”

चिलिमे जलविद्युत् आयोजनामा घिसिङसँगको पुरानो सहकार्य सम्झँदै शाक्यले प्रारम्भिक डिजाइनदेखि सञ्चालनसम्मका महत्वपूर्ण चरणमा आफूले नेतृत्व गरेको बताए। शाक्यका अनुसार परियोजना नाफामुखी बनेपछि घिसिङले त्यहाँ थप विस्तार र नयाँ योजनाहरू अघि बढाएका थिए। “चिलिमेलाई आजको अवस्थामा ल्याउन दुवै जनाको अनुभव र बुझाइ समान ढङ्गले मिलेको हो,” उनले उल्लेख गरे।

यद्यपि, बदलिँदो परिस्थितिमा आफू केही नयाँ सोचतर्फ उन्मुख भएको शाक्यको भनाइ छ। वर्तमान सन्दर्भमा निजी क्षेत्रसँगै प्राधिकरणले आफ्नै आयोजनामा पनि दाबी गर्नुपर्ने आवश्यकता बढेको उनले बताए। “कम्पनीमार्फत मात्रै होइन, प्राधिकरणले आफैँले धेरै आयोजनाहरू बनाउनुपर्छ भन्ने मेरो बुझाइ अहिले थप प्रस्ट भएको छ,” शाक्यले भने।

शाक्यले एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहँदा घिसिङको साथ र सहयोगले आफू सफल भएको अनुभव पनि सुनाए। त्यसबेला कम्पनीमा न्यून जनशक्ति हुँदाहुँदै छोटो समयमै ठूलो प्राविधिक समूह निर्माण गर्न सकेको श्रेय उनले घिसिङकै सहयोगलाई दिए।

उनका अनुसार अहिले आफू प्राधिकरणमा फर्किँदा फेरि त्यही परिस्थितिको पुनरावृत्ति हुने संकेत देखिएको छ। “जस्तै त्यतिबेला उहाँ सञ्चालक समितिको अध्यक्ष हुनुभयो, अहिले ऊर्जामन्त्रीको हैसियतमा प्राधिकरणकै अध्यक्ष हुनुहुन्छ,” शाक्यले भने, “त्यसैले सकारात्मक र परिणाममुखी सहकार्य हुनेछ भन्नेमा म विश्वस्त छु।”