काठमाडौँ, मंसिर २५ – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सरकार र जेनजी समूहबीच भएको पछिल्लो सम्झौता वार्तामा बाह्य हस्तक्षेप र ‘घुसपैठ’ भएको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका तस्बिर र लेखमार्फत आन्दोलनको नेतृत्व तहमै अवाञ्छित व्यक्तिहरू प्रवेश गराइएको आरोप थप प्रस्ट्याएका छन्।
गुरुङका अनुसार सम्झौता च्यातेर विवाद सिर्जना गर्ने अजय सोडारी आन्दोलनको सबैभन्दा सक्रिय चरणमा नेपालमै थिएनन्। उनले भदौ २३ देखि जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला सोडारी दक्षिण कोरियामा भएको दाबी गरेका छन्। गुरुङले सोडारी आन्दोलन सुरु भएको करिब ४० दिनपछि, अक्टोबर १८ मा मात्र नेपाल फर्किएको उल्लेख गरेका छन्।
सोमबार भएको वार्ताका क्रममा सोडारीले ‘जेनजीको हितविपरीत सम्झौता गरिएको’ भन्दै दस्तावेज च्यातेपछि केहीबेर तनाव सिर्जना भएको थियो। गुरुङको ताजा अभिव्यक्तिले सोडारीको भूमिकाप्रति आन्दोलनभित्रै थप प्रश्न उठेको देखिएको छ।
गुरुङले लेखेका छन्, “जेनजी आन्दोलनमाथि घुसपैठ यही हो। आन्दोलनको महत्वपूर्ण बेलामा कोरियामा रहेका व्यक्तिले आएर सम्झौता च्यात्नु कसको इसारामा भयो ?”
