काठमाडौं, पुस ४ – अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रम अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेको छ। ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री क्रिस्टी नोयमले उक्त निर्णय लिएको बताइएको छ।
गोलीकाण्डमा संलग्न व्यक्ति विगतमा डिभीमार्फत अमेरिका प्रवेश गरेको खुलेपछि आप्रवासन नीतिमा कडाइ गरिएको अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजले जनाएको छ। गृहमन्त्री नोयमले सामाजिक सञ्जालमार्फत अपराधीलाई अमेरिका प्रवेश दिनु गलत भएको टिप्पणी गरेकी छन्।
सन् १९९० को दशकदेखि सञ्चालनमा रहेको डिभी लोटरी कार्यक्रममार्फत हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका करिब ५० हजार नागरिक अमेरिका लैजाने गरिँदै आएको छ।
