पाँच वर्ष पछुताउनुभन्दा अहिले नै सही प्रतिनिधि छानौँ : मन्त्री खरेल


पाँच वर्ष पछुताउनुभन्दा अहिले नै सही प्रतिनिधि छानौँ : मन्त्री खरेल
  • नवकिरण
  • पौष ५, २०८२

काठमाडौं, पुस ५ – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशामा लैजान सक्ने योग्य र सक्षम प्रतिनिधि चयन गर्न नागरिकहरूलाई आग्रह गरेका छन्। गलत व्यक्तिलाई मतदान गरेर पाँच वर्ष पछुताउनु भन्दा समयमै विवेक प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खरेलले मुलुक अहिले परिवर्तनको चरणमा रहेको उल्लेख गरे। उनले युवा पुस्ताबाट नेतृत्व खोज्नुपर्नेमा जोड दिँदै पार्टीभन्दा माथि उठेर असल र योग्य व्यक्तिलाई जिताउन अपिल गरे।

वर्तमान सरकार सीमित समयका लागि गठन भए पनि सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा गम्भीर भएर लागेको दाबी गर्दै उनले पछिल्ला तीन महिनामा ३० भन्दा बढी ठूला भ्रष्टाचारका मुद्दा अदालत पुगेको जानकारी दिए। साथै आठ जना भन्दा बढी पूर्वमन्त्रीहरू अनुसन्धानको दायरामा आएको उनले बताए।

भ्रष्टाचारविरुद्धको अनुसन्धानमा कुनै किसिमको दबाब वा हस्तक्षेप नहुने स्पष्ट पार्दै मन्त्री खरेलले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए।

देशको मजबुतीका लागि सुशासन अपरिहार्य भएको उल्लेख गर्दै उनले सरकारले कामकाजलाई पारदर्शी र प्रभावकारी बनाउँदै लगेको बताए। आगामी निर्वाचन निष्पक्ष र उत्साहपूर्ण रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको भन्दै सक्षम नेतृत्व चयनबाट मात्रै देशको भविष्य सुरक्षित हुने उनको धारणा थियो।