चितवन, पुस ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तोकिएको समयमै निर्वाचन गराउन सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै उनले सुशासनसहित समयमै चुनाव हुनु आजको मुख्य आवश्यकता भएको बताए।
लामिछानेले देशमा बिग्रिएका संरचनाहरू पुनर्निर्माण गर्नु र नागरिकका टुटेका आशाहरूलाई जोड्नु अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गरे। उनले आगामी निर्वाचनलाई देशको भविष्यसँग जोडिएको निर्णायक मोडका रूपमा व्याख्या गर्दै जनताको भरोसामाथि खेलवाड गर्न नहुने बताए।
सभामा उनले परम्परागत राजनीतिक दलहरूले जनतालाई दुःख दिएको आरोप लगाउँदै नयाँ राजनीतिक शक्तिहरूले त्यो गल्ती नदोहोर्याउने दाबी गरे। जनताको विश्वास, साथ र मायाको बलमा देशलाई नयाँ दिशातर्फ अघि बढाउने आफ्नो संकल्प रहेको उनको भनाइ थियो।
सरकारलाई लक्षित गर्दै लामिछानेले ‘सुशासनको बलमा समयमै निर्वाचन सम्पन्न गर्न’ आग्रह गरे। उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति संकेत गर्दै अहिले नेतृत्वको अनुहारमा ‘अँध्यारोपन’ देखिएको टिप्पणी गरे र अब उज्यालो अनुहारसहित निर्णायक रूपमा अघि बढ्न सुझाव दिए।
देशले न्याय पाउने ठाउँमा पुगेकाले नेतृत्व कमजोर नहुनुपर्ने बताउँदै उनले इतिहासले दिएको अवसरको सदुपयोग गर्न आग्रह गरे। शहीदहरूको बलिदान व्यर्थ हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै लामिछानेले ‘जेन–जी’ पुस्ताका माग र अपेक्षा सम्बोधन गर्न रास्वपा सधैँ तयार रहेको स्पष्ट पारे।
