काठमाडौं, पुस ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हालैको जेनजी विद्रोहलाई क्रान्तिमा परिणत गर्नुपर्ने बताएका छन्।
नख्खु कारागारबाट धरौटीमा रिहा भएपछि आइतबार पहिलो पटक केन्द्रीय कार्यालय वनस्थलीमा समर्थकसँग सम्बोधन गर्दै लामिछानेले भने, “विद्रोह भएको छ, त्यसलाई क्रान्तिमा बदल्न बाँकी छ। सिंहदरबार त बनाउँला, तर त्यसलाई बदल्नुपर्छ। जेनजीको विद्रोहलाई हामीले रूपान्तरण गर्न बाँकी छ।”
उनले आफ्नो अनुपस्थितिमा पनि पार्टीलाई मजबुत बनाइरहेका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई धन्यवाद दिएका छन्। लामिछानेले भने,
“ममाथि जिल्लैपिच्छे मुद्दा लगाइएको छ, तर मैले विश्वास गुमाएको छैन। सत्य हार्दैन भन्ने विश्वास मसँग सास रहुन्जेल बाँकी रहन्छ। पार्टीलाई जोगाउनु सजिलो कुरा होइन, तर डिपी अर्यालले यसमा महत्वपूर्ण भूमिका खेलेका छन्।”
कार्यालय पुग्दा लामिछानेलाई पार्टीका नेताहरू, समर्थक र शुभचिन्तकहरूले बाजागाजा सहित भव्य स्वागत गरेका थिए।
