जेनजी इन्डिजिनियसद्वारा ‘संयुक्त जेनजी’ आन्दोलन अस्वीकार, ढुंगानालाई ‘भगौडा’ को आरोप


जेनजी इन्डिजिनियसद्वारा ‘संयुक्त जेनजी’ आन्दोलन अस्वीकार, ढुंगानालाई ‘भगौडा’ को आरोप
  • नवकिरण
  • पौष ७, २०८२

विराटनगर, पुस ७ – मिराज ढुंगानाको नेतृत्वमा घोषणा गरिएको ‘संयुक्त जेनजी’ आन्दोलनप्रति जेनजी इन्डिजिनियसले कडा असहमति जनाएको छ। सोमबार आयोजना गर्न लागिएको उक्त आन्दोलनलाई अरूको स्वार्थ र उक्सावटमा अघि बढाइएको एकतर्फी प्रयास भन्दै संगठनले त्यसमा सहभागी नहुन अपिल गरेको छ।

जेनजी इन्डिजिनियसका संयोजक संग्राम सिंह किराँतीले जारी गरेको विज्ञप्तिमा ढुंगानाको समूहले अघि सारेको सर्वपक्षीय सरकारको माग नै शंकास्पद रहेको उल्लेख छ। उक्त माग दमनकारी शक्ति र पुराना स्वार्थ समूहको एजेन्डा भएको दाबी गरिएको छ।

विज्ञप्तिमा २३ भदौको ‘ऐतिहासिक विद्रोह’ का क्रममा आन्दोलन छोडेर भागेको आरोप लगाउँदै मिराज ढुंगानालाई ‘भगौडा’ को संज्ञा दिइएको छ। आन्दोलन चलिरहेकै बेला पोखरा पुगेर सहभागी नहुन आह्वान गर्ने व्यक्तिले अहिले आएर विद्रोहको स्वामित्व लिने प्रयास गर्नु लज्जास्पद भएको टिप्पणी गरिएको छ।

जेनजी इन्डिजिनियसले ढुंगाना ठूला भ्रष्टाचार काण्डमा जोडिएका व्यक्ति तथा बिचौलियाको प्रयोगमा रहेको गम्भीर आरोप पनि लगाएको छ। १० खर्बभन्दा बढी लुटसँग जोडिएका दिपक भट्ट र विवादित नेता महेश बस्नेतलगायतको लगानीमा राजधानीका महँगा होटलमा कार्यक्रम आयोजना गरिएको दाबी विज्ञप्तिमा गरिएको छ।

संगठनले मिराज ढुंगाना यो पुस्ताको वास्तविक प्रतिनिधि नभई भ्रष्ट र विस्थापित समूहको ‘भाडाका पात्र’ भएको आरोप लगाएको छ। ऐतिहासिक विद्रोहको मर्म कमजोर पारेर भ्रष्ट शक्तिलाई पुनः सत्तामा फर्काउने षड्यन्त्र भइरहेको भन्दै ७ पुसको आन्दोलनमा सहभागी नहुन सम्पूर्ण आदिवासी जनजाति युवाहरूलाई विशेष आग्रह गरिएको छ।

साथै, युवा पुस्तालाई भ्रमपूर्ण गतिविधिबाट सचेत रहन र आन्दोलनबाट हासिल उपलब्धि जोगाउन जिम्मेवार बन्न पनि संगठनले आह्वान गरेको छ।