युवालाई चुनावी मैदानमा उत्रिन मन्त्री पुनको आह्वान


युवालाई चुनावी मैदानमा उत्रिन मन्त्री पुनको आह्वान
  • नवकिरण
  • पौष ८, २०८२

काठमाडौं, पुस ८ – विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषयमा भएको बहुपक्षीय छलफल निष्कर्षविहीन बनेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजनीतिक दल र नागरिक समाजप्रति कडा असन्तुष्टि जनाएका छन्।

राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा चलेको छलफलमा प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा कुनै ठोस सहमति नजुटेपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

उनका अनुसार बैठक समाधान खोज्नुभन्दा पनि भाषण र आरोप–प्रत्यारोपमै सीमित रह्यो। दल र नागरिक समाजका अगुवाहरूले छोटो अवधिको सरकारको कमजोरी देखाउँदै समय खेर फालेको उनको आरोप छ। कुनै पनि समस्याको दीर्घकालीन निकास दिन राजनीतिक नेतृत्व असफल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

मन्त्री पुनले अहिलेको राजनीतिक नेतृत्व, दल र नागरिक समाजको भूमिकाले देशलाई संकटतर्फ धकेलिरहेको दाबी गरेका छन्। अब मुलुकलाई जोगाउन नयाँ सोच र ऊर्जा आवश्यक भएको उल्लेख गर्दै उनले नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने बताए।

उनले परिवर्तनका लागि काठमाडौंका सडकमा जुलुस निकालेर मात्र केही नहुने भन्दै युवाहरूलाई आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी भई नेतृत्व लिन आग्रह गरेका छन्। विदेशमा रहेका लाखौं नेपालीको अधिकारलाई बेवास्ता गर्दै सत्ताको खेलमा मात्र केन्द्रित नेतृत्वले देशलाई गम्भीर संकटमा पार्ने चेतावनी पनि उनले दिएका छन्।

“देशलाई डुब्नबाट बचाउन युवाहरूले चुनावी मैदानमै उत्रेर ज्यान फालेर लाग्नुपर्छ,” मन्त्री पुनको भनाइ छ।