रवि जेलमुक्त प्रकरणमा प्रसाईंको असन्तुष्टि, साँठगाँठको आशंका


रवि जेलमुक्त प्रकरणमा प्रसाईंको असन्तुष्टि, साँठगाँठको आशंका
  • नवकिरण
  • पौष १०, २०८२

काठमाडौं, पुस १० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कडा टिप्पणी गरेका छन्। स्याङ्जाको वालिङमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले रविलक्षित अभिव्यक्तिमार्फत विभिन्न आरोप लगाए।

प्रसाईंले बाहिर ‘बाघ आयो’ भन्ने हल्ला फैलाइएको भन्दै सहकारी जोगाउने नाममा चलखेल भइरहेको दाबी गरे। उनले रविलाई संकेत गर्दै सहकारीसँग जोडिएका गतिविधिप्रति सतर्क रहन चेतावनी दिए।

उनले भदौ २४ गते सिंहदरबार र अदालतमा आगजनी भएको घटनासँगै रविलाई नख्खुबाट छुटाउन सक्रिय समूह एउटै रहेको आरोप पनि लगाए। ‘सिंहदरबारमा आगो लगाउने, अदालतमा आगजनी गर्ने र रविलाई छुटाउने समूह उही हो,’ प्रसाईंको दाबी थियो।

रवि लामिछाने जेलबाट छुटेपछि उनलाई भेट्न जानेहरूप्रति पनि प्रसाईं असन्तुष्ट देखिए। उनले केही नेताहरू रविसँग भेट्न गएको प्रसंग उठाउँदै ‘यसले साँठगाँठ कति गहिरो छ भन्ने प्रस्ट हुन्छ’ भने।

प्रसाईंले रविले आफ्नो भागको बिगो तिर्छु भन्दै बाहिर आएको प्रसंग उल्लेख गर्दै त्यसलाई दोष स्वीकारको संकेतका रूपमा व्याख्या गरे।