जाँचबुझ आयोगद्वारा केपी शर्मा ओलीको स्थानहद फुकुवा


जाँचबुझ आयोगद्वारा केपी शर्मा ओलीको स्थानहद फुकुवा
  • नवकिरण
  • पौष २१, २०८२

काठमाडौँ, पुस २१ – गत भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित विषयमा गठन गरिएको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरेको छ।

आयोगको सोमबार बसेको बैठकले ओलीलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने र विदेश भ्रमणमा लगाइएको रोक हटाउने निर्णय गरेको हो। आयोगका अनुसार अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका काम–कारबाहीबारे आवश्यक सोधपुछ तथा बुझाइ प्रक्रिया पूरा भइसकेको छ।

सोधपुछ सम्पन्न भएसँगै अब प्रतिबन्ध कायम राख्नुको औचित्य नरहेको ठहर गर्दै स्थानहद हटाइएको आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए।

यसअघि २०८२ असोज १२ गते आयोगको बैठकले अनुसन्धानको दायरामा रहेकाले ओलीलाई उपत्यका नछाड्न र विदेश यात्रा नगर्न निर्देशन दिएको थियो।