आगजनीमा संलग्नलाई संरक्षण गरिएको आरोप, ‘सरकार उनीहरूकै जस्तो देखियो’ : ओली


आगजनीमा संलग्नलाई संरक्षण गरिएको आरोप, ‘सरकार उनीहरूकै जस्तो देखियो’ : ओली
  • नवकिरण
  • माघ ७, २०८२

काठमाडौं, माघ ७ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको आडमा घर तथा संरचनामा आगजनी गर्नेहरूमाथि वर्तमान सरकारले कारबाही नगरेको आरोप लगाएका छन्। उनले यसले सरकार अपराधीहरूप्रति उदार देखिएको सन्देश दिएको बताए।

गृहजिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका स्थानहरूको स्थलगत निरीक्षणपछि प्रतिक्रिया दिँदै ओलीले आन्दोलनको नाममा अरूको सम्पत्ति जलाउने कार्य स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार यस्ता गतिविधि खुलेआम अपराध भए पनि सरकारले आवश्यक कदम चाल्न सकेको छैन।

“अपराधलाई प्रोत्साहन गर्न मिल्दैन। आन्दोलनको नाममा कसैको घर जलाउन पाइँदैन,” ओलीले भने, “तर अहिलेको सरकारले दोषीलाई कारबाही गर्नेभन्दा जोगाउने काम गरिरहेको देखिन्छ।”

ओलीले देशलाई शान्तिपूर्ण र बस्न योग्य बनाउन कानुनी शासन कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औँल्याए। उनले समय आएपछि आगजनी र तोडफोडमा संलग्नहरूमाथि अवश्य कारबाही हुने दाबी पनि गरे।