काठमाडौं, माघ ८ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा झण्डै ६ लाख नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म कुल ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन्।
विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेहरूमध्ये ५ लाख १४ हजार ३ सय ५० जना पुरुष र ७६ हजार ३ सय ६८ जना महिला रहेका छन्। तीमध्ये १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्, जसले वैदेशिक रोजगारीमा पुनः जानेको संख्या पनि उल्लेख्य रहेको देखाउँछ।
यस अवधिमा ६४ हजार २ सय ६२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका छन् भने ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ।
त्यसैगरी, ४ हजार ८ सय ६६ जना जी–टु–जी (सरकार–सरकार) सम्झौता अन्तर्गत इजरायल, कोरिया र बेलायत गएका छन्। छ महिनाको अवधिमा विदेशमा विना कागजात काम गरिरहेका १४१ जना नेपालीलाई वैधानिकीकरण गरिएको विभागको भनाइ छ।
पुस महिनामा मात्रै ६२ हजार ५ सय ५९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। यसै अवधिमा जी–टु–जी प्रणालीमार्फत ६०८ जना नेपाली इजरायल पुगेका छन्।
