काठमाडौं, माघ १४ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि समस्या कम नभएपछि खुट्टामा सेलुलाइटिस देखिएको र माघ १३ गते उनलाई शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार लामिछानेको नशामार्फत आईभी एन्टिबायोटिक्स दिएर उपचार भइरहेको छ र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसैबीच, सामाजिक सञ्जालमा फैलिएका केही तस्वीरहरू शिक्षण अस्पतालसँग सम्बन्धित नभएको स्पष्ट पार्दै अस्पताल प्रशासनले ती तस्वीरप्रति भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
