रामेछाप, माघ २७ – रामेछाप जिल्लाको तामाकोशी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घटनास्थलबाट थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या १२ पुगेको हो। यसअघि ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान रामेछापको मचानेटार क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो।
दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। बाँकी घाइतेको अवस्था निगरानीमा रहेको जनाइएको छ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोमा थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषय खुल्न बाँकी छ।
सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको छ र सम्भावित बेपत्ता यात्रुको खोजी कार्य अझै जारी रहेको सीडीओ थापाले जानकारी दिए।
