काठमाडौं, चैत २४ – सरकारले विभिन्न मुलुकमा कार्यरत ६ जना नेपाली राजदूतलाई पदमुक्त गर्ने निर्णय गर्दै उनीहरुलाई स्वदेश फर्किन निर्देशन दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयअनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा रहेका राजदूतहरुलाई पत्र पठाउँदै एक महिनाभित्र नेपाल फर्किन आग्रह गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार सरकारको निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढिसकेको छ।
फिर्ता बोलाइएका राजदूतहरुमा भारतका शंकरप्रसाद शर्मा, अस्ट्रेलियाकी चित्रलेखा यादव, डेनमार्ककी सुम्निमा तुलाधर, श्रीलंकाका पूर्णबहादुर नेपाली, दक्षिण कोरियाकी शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ रहेका छन्।
यी सबै राजदूत अघिल्लो सरकारको पालामा राजनीतिक सिफारिसका आधारमा नियुक्त भएका थिए। त्यतिबेला कुल ३४ कूटनीतिक नियोगमध्ये १७ स्थानमा यस्तै प्रकारको नियुक्ति गरिएको थियो।
यसअघि अन्तरिम व्यवस्थापनका क्रममा ११ देशका राजदूतलाई फिर्ता बोलाइसकिएको थियो। हालको निर्णयसँगै अघिल्लो सरकारद्वारा नियुक्त सबै राजनीतिक राजदूतहरु हट्ने भएका छन्।
राजदूत फिर्ता बोलाउने सरकारी निर्णयलाई कूटनीतिक पुनर्संरचनाको प्रयासका रूपमा हेरिएको छ।
