नेपाल टेलिकमले डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स कट्ने अब्यवस्था हट्यो


नेपाल टेलिकमले डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स कट्ने अब्यवस्था हट्यो
  • नवकिरण
  • चैत्र २४, २०८२

काठमाडौं, चैत २४ – नेपाल टेलिकम (एनटीसी) ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स कट्ने व्यवस्था हटाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि यो निर्णय कार्यान्वयनमा ल्याइएको हो।

अब प्रयोगकर्ताले डाटा प्याकेजको ९० प्रतिशत प्रयोग भएपछि अग्रिम सूचना पाउनेछन्। साथै, डाटा सकिएपछि इन्टरनेट चलाइराख्ने वा नयाँ प्याकेज लिने भन्नेबारे ग्राहकले आफैं विकल्प छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

हाल यो प्रणाली परीक्षण चरणमा रहेको र छिट्टै पूर्ण रूपमा लागू गरिने बताइएको छ। युएसएसडीमार्फत सेवा लिने ग्राहकले केही दिनमै सुविधा पाउनेछन् भने मोबाइल एप प्रयोगकर्ताले एक साताभित्र अनुभव गर्न सक्नेछन्।

यससँगै ‘वान टाइम केवाईसी’ प्रणाली लागू गर्ने तयारी गरिएको छ, जसले ग्राहकलाई एउटै विवरण बारम्बार बुझाउनुपर्ने झन्झट हटाउनेछ। साथै, इ–सिम, सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरणजस्ता सेवा पनि अनलाइनमार्फत उपलब्ध गराइनेछन्।

सरकारले सेवा गुणस्तर सुधारका लागि ‘एकल बिन्दु सेवा’ कक्ष स्थापना र फोरजी सेवा सुदृढीकरणको योजना अघि सारेको छ। डाटा सकिँदा स्वतः रकम कट्ने व्यवस्था हटाइनु उपभोक्ता अधिकार संरक्षणतर्फ सकारात्मक कदम मानिएको छ।