काठमाडौं, चैत २८ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डोलप्रसाद अर्यालको विदेशमा कमाएको भनिएको सम्पत्तिको स्रोतबारे स्पष्ट पार्न माग गरेका छन्। उनले उक्त सम्पत्ति कुन माध्यमबाट नेपाल भित्रिएको हो र त्यसमा कर तिरिएको छ वा छैन भन्ने विषयमा सार्वजनिक जवाफ दिनुपर्ने बताएका हुन्।
पोखरेलले वर्तमान सरकार र नयाँ शक्तिहरूले सुशासनको नाममा जनतालाई भ्रममा पारेको आरोप लगाउँदै व्यवहारमा पारदर्शिता नदेखिएको टिप्पणी गरे। उनका अनुसार सुशासनको कुरा गर्नेहरूले आफैं त्यसको पालनामा कमजोर देखिएका छन्।
उनले श्रमिकबाट मालिक बन्नु स्वाभाविक भए पनि कमाइको स्रोत स्पष्ट हुनुपर्ने धारणा राखे। विदेशमा आर्जित भनिएको सम्पत्ति वैधानिक प्रक्रियाबाट आएको हो वा होइन भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो।
मन्त्रीहरूले समेत सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरे। साथै, एमालेका नेताहरू कुनै पनि जाँच र परीक्षणका लागि तयार रहेको दाबी गर्दै नयाँ शक्तिहरूलाई पनि त्यही स्तरको पारदर्शिता देखाउन चुनौती दिए।
यसैबीच, जेनजी आन्दोलनसम्बन्धी छानबिनका लागि बनेको आयोगलाई राजनीतिक पूर्वाग्रहका साथ प्रयोग गरिएको आरोप उनले लगाए। उक्त आयोगमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी दुःख दिने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत उनले दिएका छन्।
