सर्लाही, जेठ ५ – गहना नकिनेको निहुँमा सर्लाहीको पर्सा गाउँपालिका–५ का ५२ वर्षीय तसलिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको छ।
स्थानीय सुन व्यवसायी राजेन्द्र साह सोनारले अन्सारीको छोरीको बिहेमा गहना आफ्नै पसलबाट बनाउन दबाब दिएका थिए। अन्सारीले अस्वीकार गरेपछि झगडा भएको र त्यसपछि उनलाई खोरमा थुनेर यातना दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
डिएसपी सरोज राईका अनुसार सोनारसहित उनका छोरा र साथीहरूले मिलेर अन्सारीमाथि कुटपिट गरेका थिए।
यस घटनामा हालसम्म ६ जना पक्राउ परेका छन्। उनीहरूमाथि धर्मसम्बन्धी अपराध र अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।