रास्वपा उपसभापति वाग्लेद्वारा सर्वोच्चको निर्णय स्वीकार, रवि लामिछाने नै सभापति भएको पुष्टि


रास्वपा उपसभापति वाग्लेद्वारा सर्वोच्चको निर्णय स्वीकार, रवि लामिछाने नै सभापति भएको पुष्टि
  • नवकिरण
  • जेष्ठ १०, २०८२

चितवन, जेठ १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई स्वीकार गर्ने बताएका छन्। उनले पार्टीका सभापति रवि लामिछानेको पक्षमा न्यायका लागि कानुनी र राजनीतिक लडाइँ जारी राख्ने स्पष्ट संकेत दिएका छन्।

चितवनको कालिका नगरपालिकामा आयोजित प्रथम नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उपसभापति वाग्लेले सर्वोच्चको अप्रिय निर्णयपछि पार्टीले धैर्यका साथ अघि बढ्ने बताएका हुन्। “हामी विधिको शासनमा विश्वास गर्छौँ, त्यसैले अमर्यादित टिप्पणी नगरी राजनीतिक रूपमा लड्नेछौँ,” उनले भने।

उनले रवि लामिछानेकै नेतृत्वमा पार्टी अघि बढ्ने र निकट भविष्यमा नयाँ रणनीति निर्माण गरेर संसद् तथा सभामा पार्टीको भूमिकालाई थप सुदृढ बनाइने जानकारी गराए। “आइतबार केन्द्रीय समिति बैठक बस्दैछ, जहाँ संसद् र सभामा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय हुनेछ,” उपसभापति वाग्लेले बताए।

उनले थपे, “रवि लामिछाने नै पार्टीका सभापति हुन् र आगामी दिनमा बहुमत प्राप्त गरी उनलाई प्रधानमन्त्री बनाउने हाम्रो अठोट रहन्छ।”

वाग्लेले लामिछानेको मुद्दा राजनीतिक भएको दाबी गर्दै कानुनी पक्षमा पनि सक्रिय भएर न्यायका लागि संघर्ष गरिने जनाए।