बेहोस अवस्थामै बितिन् पविता यादव, लापरबाहीको शिकार बन्यो जीवन


बेहोस अवस्थामै बितिन् पविता यादव, लापरबाहीको शिकार बन्यो जीवन
  • नवकिरण
  • जेष्ठ १६, २०८२

जनकपुरधाम, जेठ १६ – पित्तथैलीको शल्यक्रियापछि चार महिनादेखि बेहोस रहेकी सर्लाही हरिपुर्वा–५ की २५ वर्षीया पविता यादवको निधन भएको छ। काठमाडौंको केएमसी अस्पतालमा आज बिहान ७ बजे उनको मृत्यु भएको हो।

माघ ३ गते दर्ताविनै सञ्चालन गरिएको जनकपुरको मुस्कान अस्पतालमा शल्यक्रिया गरेपछि पविता बेहोस भएकी थिइन्। अवस्था गम्भीर बनेपछि माघ २९ मा उनलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो।

आर्थिक अवस्था कमजोर भएकाले उनका पति अंगेश अस्पताल जानसमेत नसकेको बताउँछन्। मुस्कान अस्पतालको लापरबाहीका कारण पविता बेहोस भएको भन्दै उनका बुबा ब्रह्मदेव यादवले अस्पताल सञ्चालकसहित पाँचजनाविरुद्ध जाहेरी दिएका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा मुस्कान अस्पताल माघ २३ गते बन्द गरिए पनि दोषीविरुद्ध अहिलेसम्म कुनै कारबाही भएको छैन।