काठमाडौं, जेठ १९ – सिंहदरबारमा बसेको तीन प्रमुख दलका शीर्ष नेताहरूबीचको बैठकमा नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अडान कायमै राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने पार्टीको धारणा दोहोर्याए। उनका अनुसार संसद्मा माओवादी लगायत विपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएको माग यही हो।
पाण्डेले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले सदनमा उठाएका विषयहरू यथावत् छन्। सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने हामीले भनेका छौं। भिजिट भिसा प्रकरणमा देखिएको गडबडीको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ।”
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अवरुद्ध नगरी अघि बढ्न आग्रह गरेका थिए। उनले अहिले गृहमन्त्रीको राजीनामाभन्दा पनि संसद् सञ्चालनमा ध्यान दिनुपर्ने धारणा राखेको पाण्डेले जानकारी दिए।
प्रधानमन्त्री तथा सत्तारुढ दलका अन्य नेताहरूले भिजिट भिसा प्रकरण कर्मचारी स्तरको विषय भएकाले गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको तर्क गरेका छन्। तर माओवादी केन्द्रले भने सुशासन सुनिश्चित गर्न राजनीतिक जवाफदेहिता जरुरी रहेको अडान लिएको छ।