गण्डकी प्रदेशको बजेट सार्वजनिक : करिब १ अर्ब घटाएर ३२ अर्ब हाराहारीको बजेट प्रस्ताव


गण्डकी प्रदेशको बजेट सार्वजनिक : करिब १ अर्ब घटाएर ३२ अर्ब हाराहारीको बजेट प्रस्ताव
  • नवकिरण
  • अषाढ १, २०८२

पोखरा, असार १ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब १ अर्बले घटाएर करिब ३२ अर्बको बजेट प्रस्ताव गर्ने तयारी गरेको छ। आज दिउँसो ४ बजे अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

गत आर्थिक वर्षमा ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले यो वर्ष बजेट घटाउँदै प्राथमिकता सहितको बजेट प्रस्ताव गर्न लागेको हो।

सांसदलाई मन्त्रालयगत सिलिङबाट बजेट बाँडफाँड

गत वर्ष चौतर्फी आलोचना भएपछि ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज गरेको सरकारले यसपालि सांसदलाई मन्त्रालयगत सिलिङबाट बजेट बाँड्ने नीति लिएको छ। प्रत्यक्ष निर्वाचित सांसदले भौतिक पूर्वाधार मन्त्रालयबाट २ करोड ५० लाख सम्मका योजना छनोट गर्न पाउनेछन् भने समानुपातिक सांसदलाई १ करोड ५० लाखसम्मको सीमा तोकिएको छ।

अन्य मन्त्रालयहरूमार्फत सांसदहरूलाई छुट्टाछुट्टै योजनाका लागि बजेटको सीमा तोकिएको छ:

  • वन मन्त्रालय: प्रत्यक्षलाई १० लाख, समानुपातिकलाई ५ लाख
  • पर्यटन मन्त्रालय: प्रत्यक्षलाई ४० लाख, समानुपातिकलाई २० लाख
  • सामाजिक विकास मन्त्रालय: प्रत्यक्षलाई ५० लाख, समानुपातिकलाई २५ लाख
  • अन्य मन्त्रालयहरूबाट पनि योजनाहरू माग गरिएको छ भने मन्त्रीहरूका लागि छुट्टै कोटा व्यवस्था गरिएको छ।

कृषि, खानेपानी र स्वास्थ्यमा बजेटको प्राथमिकता

सरकारले आगामी वर्षका लागि कोरिडोर केन्द्रित कृषि उत्पादनलाई प्राथमिकता दिएको छ। जलाधार क्षेत्र र प्रमुख राजमार्ग आसपासका भेगलाई कृषि उत्पादनसँग जोडेर विकास गरिने बजेटले संकेत गरेको छ।

त्यसैगरी, ४ सयभन्दा बढी खानेपानी योजनाहरू एकै वर्षमा सम्पन्न गर्ने लक्ष्य लिँदै खानेपानी क्षेत्रमा विशेष बजेटको व्यवस्था गरिएको छ। स्वास्थ्य सेवा सुधार, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास पनि आगामी बजेटका प्रमुख प्राथमिकतामा पर्छन्।

सरकारले बजेट समावेशी, परिणाममुखी र विकासमा केन्द्रित हुने दाबी गरेको छ।