इजरायलमै अड्किए विराटनगरका मेयर नागेश कोइराला, फर्किने मिति अनिश्चित


इजरायलमै अड्किए विराटनगरका मेयर नागेश कोइराला, फर्किने मिति अनिश्चित
  • नवकिरण
  • अषाढ २, २०८२

विराटनगर, असार २ – इजरायल–इरान युद्ध चर्किंदै गएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलमै अड्किएका छन्।

सहकारी अभ्यासबारे अध्ययन गर्न इजरायल गएका कोइराला युद्धका कारण अन्तर्राष्ट्रिय सीमा बन्द भएपछि नेपाल फर्कन सकेका छैनन्।

मेयर कोइरालाले खतराको संकेतस्वरूप साइरन बज्नेबित्तिकै आफूले नजिकको बंकरमा लुक्ने गरेको जानकारी दिएका छन्। हाल उनी राजधानी तेलअभिवबाट करिब ३० किलोमिटर टाढा रहेको ‘सेफाइम’ क्षेत्रमा सुरक्षित रूपमा बसेको बताइएको छ।

कोइरालाको नेपाल फर्किने मिति असार २० तय गरिएको थियो। तर इरान–इजरायल तनावले अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि उनी नेपाल कहिले फर्किन सक्ने भन्ने अनिश्चित बनेको छ।

नेपालका लागि इजरायलस्थित नेपाली राजदूत प्राध्यापक डा. धनप्रसाद पण्डित र परराष्ट्रमन्त्री आरजु राणा देउवाले मेयर कोइरालासँग टेलिफोन सम्पर्क गरेर उनको अवस्थाबारे जानकारी लिएका छन्।

राजदूत पण्डितले भने, “मैले मेयरसापलाई फोन गरेको थिएँ, उहाँ सुरक्षित हुनुहुन्छ। युद्ध रोकिएर अन्तर्राष्ट्रिय उडान खुल्नासाथ उहाँलाई फर्काउने व्यवस्था मिलाइनेछ।”

मेयर कोइराला अध्ययन भ्रमणका लागि इजरायल गएका एकमात्र जनप्रतिनिधि हुन्। युद्धले पारेको प्रभावका कारण उनी अन्य नेपाली नागरिकहरूसँगै उतै रोकिएका छन्।