काठमाडौंमा अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ


काठमाडौंमा अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ
  • नवकिरण
  • अषाढ १६, २०८२

काठमाडौं, असार १६ – अश्लील फोटो र भिडियो बनाएर बिक्री वितरण गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ग्राण्डीमा बसोबास गर्ने २९ वर्षीय रमेश थापा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार थापाले नेपाल तथा विदेशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलाप गराउँदै तिनको भिडियो बनाउने र ती अश्लील सामग्रीहरू बिक्री वितरण गर्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

उक्त सूचनाका आधारमा प्रहरी टोलीले शुक्रबार थापालाई नियन्त्रणमा लिएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार अश्लील किताब, पर्चा, सामग्री बनाउन वा बिक्री वितरण गर्न नपाइने कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले डिजिटल माध्यमको दुरुपयोग गरी अश्लील गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्ने कार्यलाई थप कडाइका साथ अघि बढाउने जनाएको छ ।