काठमाडौँ नगर प्रहरीविरुद्ध उच्च अदालत पाटनमा रिट, असार १९ मा सुनुवाइ


काठमाडौँ नगर प्रहरीविरुद्ध उच्च अदालत पाटनमा रिट, असार १९ मा सुनुवाइ
  • नवकिरण
  • अषाढ १७, २०८२

काठमाडौँ, असार १७ – काठमाडौँ महानगरपालिकाअन्तर्गत नगर प्रहरीले बिना पूर्व सूचना मोटरसाइकल उठाएर जरिवाना गरेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरिएको छ।

कानुन विषयका विद्यार्थी ओमकुमार यादव र निकेश नेपालले उत्प्रेषण परमादेशको मागसहित मङ्गलबार अदालतमा निवेदन दिएका हुन्।

रिटमा महानगर प्रहरीसँगै ट्राफिक प्रहरी कार्यालयलाई समेत विपक्षी बनाइएको छ।

निवेदकद्वयले काठमाडौँ मेडिकल कलेज, सिनामंगल नजिक सडक किनारमा पार्क गरिएको मोटरसाइकल नगर प्रहरीले कुनै सूचना नदिई उठाएर जरिवाना लिएको दाबी गरेका छन्। रिटमा भनिएको छ, ‘उक्त स्थानमा न त “नो पार्किङ” बोर्ड थियो, न कसैलाई अवरोध हुने गरी सवारी राखिएको थियो। तर बिना लिखित सूचना र जवाफ दिने अवसर नदिई नगर प्रहरीले प्रत्यक्ष रूपमा प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन गर्दै सवारी उठाएर जरिवाना गर्‍यो।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र महानगर प्रहरी ऐन, २०८० मा नगर प्रहरी र ट्राफिक प्रहरीलाई यस्ता कार्यको स्पष्ट अधिकार नदिएको उल्लेख गर्दै उक्त कार्य गैरकानुनी भएको दाबी गरिएको छ।

रिटमा उठाइएको जरिवाना बदर गरी फिर्ता गरिनु पर्ने र भविष्यमा कानुनबिना यसरी सवारीसाधन नियन्त्रणमा नलिन नगर प्रहरीलाई आदेश दिन माग गरिएको छ।

रिटमा नेपालको संविधानको धारा १६ (जीवन र स्वतन्त्रताको हक), १७ (व्यक्तिगत स्वतन्त्रता), ४६ (सामान्य हक संरक्षण) र १४४ (सुरक्षा निकायसम्बन्धी व्यवस्था) को उल्लङ्घन भएको उल्लेख गरिएको छ।

उक्त रिट निवेदनमाथि असार १९ गते उच्च अदालत पाटनमा सुनुवाइ हुने छ।