काठमाडौँ, मंसिर २९ – नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको तयारी तीव्र भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्ने नेताहरूको सूची अन्तिम रूप दिएका छन्। तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा रहेका ओलीले तयार पारेको प्यानलमा भने दुई जना नेताले असन्तुष्टि जनाएका छन्।
स्रोतका अनुसार ओलीले सार्वजनिक गर्न लागेको सूचीप्रति नेता प्रदीप ज्ञवाली र लेखराज भट्ट असन्तुष्ट देखिएका छन्। उपाध्यक्षका रूपमा नाम समावेश गरिएका ज्ञवालीले महासचिव पदमै दाबी कायमै राखेका छन्। महासचिव नपाए केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिने चेतावनीसमेत उनले दिएका छन्।
त्यसैगरी सचिव पदका लागि प्रस्तावित लेखराज भट्टले आफू सचिवमा नलड्ने स्पष्ट पार्दै उपमहासचिव पदमा दाबी गरेका छन्। यी दुईबाहेक अन्य नेताहरूको हकमा भने सहमति जुटिसकेको स्रोतको भनाइ छ।
अध्यक्ष ओलीले तयार पारेको पदाधिकारी प्यानलअनुसार अध्यक्षमा स्वयं केपी शर्मा ओली रहेका छन् भने महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ।
उपाध्यक्षका रूपमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ रहेका छन्। उपमहासचिवमा भानुभक्त ढकाल, विष्णु रिमाल र रघुवीर महासेठको नाम समेटिएको छ।
त्यस्तै सचिव पदका लागि लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, यमलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, शेरधन राई र खगराज अधिकारीको नाम सूचीमा समावेश गरिएको छ।
महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर पार्टीभित्र छलफल र आन्तरिक समन्वय अझै जारी रहेको नेताहरूले बताएका छन्।
