सहमति कार्यान्वयन नभए आन्दोलन चर्काउने यातायात व्यवसायीको चेतावनी


सहमति कार्यान्वयन नभए आन्दोलन चर्काउने यातायात व्यवसायीको चेतावनी
  • नवकिरण
  • जेष्ठ २०, २०८२

काठमाडौं, जेठ २० — सार्वजनिक यातायात व्यवसायीहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभए भोलिदेखि आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले एक प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारले संघीय सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन सशक्त रूपमा अगाडि बढाइने बताएका हुन्।

विज्ञप्तिमा स्वारले देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर तथा कर्मचारीलाई आन्दोलनमा सक्रिय सहभागी हुन आग्रह गरेका छन्। साथै, आन्दोलनका कार्यक्रम तथा सरकारसँग भएका सम्झौताहरू सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिने पनि उल्लेख गरिएको छ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहमति कार्यान्वयनका लागि पत्र पठाइसकेको जनाइएको छ। सो पत्रबारे हाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल जारी रहेको स्रोतले जनाएको छ।