संयुक्त जनआन्दोलन समितिको नयाँ रणनीति : काठमाडौंबाट जिल्लातर्फ आन्दोलन


संयुक्त जनआन्दोलन समितिको नयाँ रणनीति : काठमाडौंबाट जिल्लातर्फ आन्दोलन
  • नवकिरण
  • जेष्ठ २१, २०८२

काठमाडौं, जेठ २१ – राजसंस्थाको पुनःस्थापनाका लागि क्रियाशील संयुक्त जनआन्दोलन समितिले अब आन्दोलनको कार्यतालिका राजधानी केन्द्रित नभई जिल्लाहरूमा केन्द्रित गर्ने निर्णय गरेको छ।

बुधबार बसेको समितिको बैठकले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवका आधारमा भावी रणनीति परिमार्जन गर्ने निर्णय लिएको हो। समितिमा आवद्ध ४५ दल, समूह तथा अभियानको उपस्थिति रहेको उक्त बैठकमा आन्दोलनलाई अझ प्रभावकारी बनाउने उपायबारे विस्तृत छलफल भएको संयोजक नवराज सुवेदीले जानकारी दिए।

सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गत सातादेखि सञ्चालन हुँदै आएको आन्दोलनको समिक्षासँगै भावी कार्यक्रम तय गरिएको छ। अब आन्दोलनलाई देशका प्रमुख शहर तथा जिल्लामा विस्तार गर्दै व्यापक जनसहभागिता सुनिश्चित गरिनेछ।”

बैठकले ६ बुँदे कार्ययोजना पारित गरेको छ, जसअनुसार:

  • काठमाडौं उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शन जारी रहने
  • उपत्यका बाहिरका प्रमुख शहरहरूमा सभा, धर्ना तथा जनप्रदर्शन गरिने
  • स्थानीय तहदेखि नै नयाँ संयुक्त जनआन्दोलन समितिहरू गठन गरिने
  • जुझारु र प्रतिबद्ध युवा कार्यकर्ताहरूको टोली गठन गरिने
  • आन्दोलनलाई सशक्त, प्रभावकारी र उपलब्धिमूलक बनाइने
  • अन्ततः आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गरिने योजना रहेको छ।

विज्ञप्तिमा पूर्व निजामती कर्मचारी, सेना, प्रहरीलगायत राष्ट्रको सेवामा योगदान पुर्‍याएका नागरिकहरूलाई आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ।

संयुक्त जनआन्दोलन समितिले आन्दोलनको दोस्रो चरण जिल्लाबाट सुरु गर्दै फेरि काठमाडौं फर्कने रणनीति लिएको स्पष्ट देखिन्छ।