मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको पार्टी कार्यालयको शिलान्यास


मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको पार्टी कार्यालयको शिलान्यास
  • नवकिरण
  • जेष्ठ २९, २०८२

मुस्ताङ, जेठ २९ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४, भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। शिलान्यास बौद्ध परम्पराअनुसार सम्पन्न भएको हो।

पार्टीको जिल्ला समन्वय समितिका इञ्चार्ज धीरेन्द्र विकका अनुसार छ कोठे भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र–२, छ्ङ्गुरका स्थानीयवासी ढच्युङ गुरुङले जग्गा दान गरेका हुन्।

शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको संगठन विस्तारसँगै मुस्ताङको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय नेता तथा कार्यकर्ताहरूलाई जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशनसमेत दिए।

यो पहलले दुर्गम हिमाली जिल्ला मुस्ताङमा राजनीतिक संरचना मजबुत बनाउन र स्थानीय स्तरमा पार्टीको उपस्थिति सशक्त गर्न टेवा पुर्‍याउने विश्वास गरिएको छ।