ओली र भण्डारीबीच डेढ घण्टा लामो संवाद


ओली र भण्डारीबीच डेढ घण्टा लामो संवाद
  • नवकिरण
  • अषाढ ६, २०८२

काठमाडौं, असार ६ – प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीबीच करिब डेढ घण्टा लामो एकान्त वार्ता भएको छ।

पूर्वराष्ट्रपति भण्डारी आफैं समय लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्। चीन भ्रमणपछि देश फर्किएकी भण्डारीले ओलीसँगको भेटमा हालसम्म विभिन्न नेतासँग भएका भेटघाट, कार्यकर्ताहरूको धारणा तथा एमाले नेतृत्वप्रति देखिएको जनभावनाका विषयमा जानकारी गराएको स्रोतहरूले जनाएका छन्।

भेटपछि दुवैले आ-आफ्ना पक्षका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। ती छलफलमा सहभागी एक नेताका अनुसार भण्डारीले ओलीलाई कार्यकर्ताहरू नयाँ नेतृत्व चाहिरहेको बताएकी थिइन्। तर आफू अध्यक्षको दौडमा होमिएको घोषणा भने नगरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले भने पार्टीको विधान महाधिवेशन भदौमा हुने भन्दै त्यसबारे छलफल गरिने संकेत दिएका छन्। ओलीले भनेका थिए, “तपाईंलाई भेट्नेहरूले तपाईंलाई अघि बढ्नुस् भन्छन्, मलाई भेट्नेहरूले मलाई नै नछोड्नुस् भन्छन्। सल्लाह गरौंला।”

भेटपछि एमाले पदाधिकारीहरूसँग कुराकानी गर्दै भण्डारीले पार्टीभित्र अहिले नै दुईवटा ध्रुव बनाउने चाहना नरहेको बताएकी थिइन्। “सकेसम्म सहमतिमै अघि बढ्ने हो,” उनले भनेको स्रोतले जानकारी दिएको छ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कन चाहन्छिन्। गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा कार्यकर्तासँग संवाद गर्दै आएको भण्डारीको सक्रियता, साथै हालैको चीन भ्रमण, एमालेभित्र गहिरिँदो गुटबन्दीका संकेतका रूपमा हेरिएको छ।

तर एमालेभित्र अझै ओली र भण्डारीले स्पष्ट गुट बनाएर अघि बढ्न खोजेको भन्ने धारणा नेताहरूले अस्वीकार गरेका छन्। “अहिले दुवैजनाले कार्यकर्ताको मन बुझ्ने र एक अर्काको नाडी छाम्ने काम गरिरहनुभएको छ,” एक एमाले पदाधिकारीले भने।

गत जेठ २५ गते अनेरास्ववियुको अधिवेशनमा प्रधानमन्त्री ओलीले महाधिवेशनअघि नेतृत्व परिवर्तनको हल्ला चलाएर पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाएका थिए। त्यसको दुई दिनपछि भण्डारीले पत्रकारसँग कुरा गर्दै उक्त अभिव्यक्ति आफूविरुद्ध लक्षित नभएको बताएकी थिइन्।

यसैक्रममा ओलीसँगको भेटमा भण्डारीले आफू छुट्टै गुट बनाउने पक्षमा नरहेको प्रस्ट पार्दै अध्यक्षकै सहमतिमा अघि बढ्न चाहेको धारणा राखेको एमाले स्रोतको दाबी छ।