काठमाडौं, असार २० – प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने स्पेन भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्। स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न “विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागी हुन प्रधानमन्त्री ओली असार १४ गते शनिबार कतार हुँदै स्पेन प्रस्थान गरेका थिए।
स्वदेश फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उच्च सरकारी अधिकारीहरूले स्वागत गरेका थिए। स्वागत समारोहमा नेपाली सेनाको टुकडीद्वारा औपचारिक सलामीसमेत प्रदान गरिएको थियो।
स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग विशेष भेटवार्ता गरेका थिए। त्यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजसँग दुई पक्षीय वार्ता भएको थियो। साथै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुईस मोन्टेनेग्रोसँग पनि प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका थिए।
सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए भने विभिन्न छलफल सत्रहरूमा समेत सक्रिय सहभागिता जनाएका थिए। उनले सम्मेलनलाई सम्बोधन गर्दै विकासशील राष्ट्रहरूको वित्तीय चुनौती र सहकार्यका सम्भावनाबारे धारणा राखेका थिए।